नङमा टक्क अडिने सिरुपाते खुकुरीको मूल्य ३२ हजार, खुकुरी देखेर ग्राहक समेत अचम्मित

नङमा टक्क अडिने सिरुपाते खुकुरीको मूल्य ३२ हजार, खुकुरी देखेर ग्राहक समेत अचम्मित

काठमाडौं । खुकुरीलाई नेपाली वीरताको निशानी मानिन्छ । तर, गौरवमय पहिचान बोकेको खुकुरी बनाउने परम्परागत सीप अचेल संकटमा पर्न थालेको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ का ६६ वर्षीय वीरबहादुर विकले खुकुरी निर्माणको परम्परागत सीपलाई अहिलेसम्म जोगाउँदै आएका छन् । उनले नेपाली सेनाका जवान, एवं पर्यटकहरुको मागलाई धानिरहेका छन् ।

वीरबहादुरले पाँच दशकभन्दा लामो समयदेखि खुकुरी बनाउने पेशालाई निरन्तर अंगाल्दै आएका हुन् । विशेषतः भोजपुरी सिरुपाते खुकुरी र खुँँडा बनाउन सिपालु विकले विगतमा चार छोरा र एक छोरीसहितको परिवार यही परम्परागत पेशाबाट धाने । वीरबहादुर ९ वर्षको उमेरदेखि नै आफ्ना बुवासँग आरनमा रमाउने गर्थे । बुवासँगै आरनमा रम्दारम्दै उनले भोजपुरमा ६ महिनासम्म बसेर भोजपुरे सिरुपाते खुकुरी बनाउने सीप सिके ।

वीरबहादुरले बनाएका भोजपुरे सिरुपाते खुकुरी, खुँडालगायतका हतियार चितवन, पोखरा, काठमाण्डौ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज लगायतका सहरसम्म बिक्री हुने गर्छ । उनले बनाएका खुकुरी भारतीय सेनामा कार्यरत जवानहरुले पनि खरीद गरेर लैजाने गरेका छन् । विशेष गरी नेपाली सेनाका जवान उनका ग्राहक हुन् । विभिन्न जिल्लाबाट यस क्षेत्रमा खटी आउने सेनाका जवानहरुले वीरबहादुरले बनाएका खुकुरी असाध्यै मन पराउने गरेका छन् ।

सेनाका जवानबाट उनलाई खुकुरी बनाइदिने अर्डर आउने गरेको छ । विभिन्न स्थानबाट घुम्न आउने पर्यटकले पनि चिनोस्वरुप भोजपुरे खुकुरी लिने गरेको वीरबहादुर बताउँछन् । आफूले बनाएको खुकुरीका ग्राहक नेपाली सेना, सशस्त्र प्रहरी हुने गरेको वीरबहादुरले बताए । मेला वा महोत्सवहरुमा पनि खुकुरी लगेर बेच्ने तथा प्रदर्शन गर्ने गरेको उनले सुनाए । नेपालीको वीरताको प्रतीक, नेपाली शान, नेपालीको बाहदुरी अनि नेपालको रक्षाका लागि प्रयोग हुने हतियार बनाउँदा आफूलाई गर्व महसुस हुने गरेको वीरबहादुर बताउँछन् ।

नङमा अडिने ३२ हजारको खुकुरी !

वीरबहादुरले बनाएका भोजपुरे सिरुपाते खुकुरीको न्यूनतम मूल्य २५ सयदेखि ३२ हजार रुपैयाँसम्मका छन् । आफूले बनाएका मध्ये एउटा खुकुरी देखाउँदै वीरबहादुर भन्छन्, ‘यो खुकुरीको मूल्य भारु २० हजार अर्थात नेरु ३२ हजार बढी पर्छ । यो खुकुरी जुरुक्क उठ्छ । लौरी, कुर्सी, औंलाको नङ जहाँ राख्ने हो, त्यहीँ टक्क अडिन्छ ।’

दुई महिना बढी समय खर्चेर लामो समयको अनुभवपश्चात यो खुकुरी बनाउन सफल भएको उनी बताउँछन् । खुकुरीको बुट्टादार बिँड काठको नभएर हड्डीबाट बनेको उनी बताउँछन् ।

वीरबहादुरले आफ्नो सीपको वर्णन गर्दै भने, ‘मैले धेरै खुकुरी बनाएँ । खुकुरी कति बन्यो होला भन्ने हिसाव–किताव मसँग छैन । तर, धार टेकाएको ठाउँमा टक्क अडिने खुकुरी योसहित ३ वटामात्रै बने । खुकुरी किन्न आउने ग्राहकहरु यो खुकुरी देखेर छक्क पर्छन् । जादु हो कि भनेर प्रश्न गर्छन् ।’

आरन गाउँपालिकामा दर्ता गर्ने चाहना

खुकुरी बनाउन खप्पिस विश्वकर्माले आफ्नो सीप र कलाको संरक्षण गर्न गाउँपालिकाले आर्थिक सहयोग गर्नुपर्ने माग राखेका छन् । पाँच दशकदेखि परम्परागत ढंगले आरन चलाउन बाध्य बनेको भन्दै वीरबहादुरले अहिलेसम्म आरन दर्ता समेत हुन नसकेको गुनासो गरे ।

विगतमा माओवादी द्वन्द्वकालको असर आरन चलाउने परम्परागत पेशामा परेको विश्वकर्माले स्मरण गरे । द्वन्द्वकालमा राजा र माओवादी, दुवै पक्षबाट धेरैले अकालमै ज्यान गुमाउनुपरेको स्मरण गर्दै उनले आरनमा हथौडी चलाएर बसेको समयमा आफूले पनि धम्की खेप्नु परेको पीडा सुनाए ।

पछिल्लो समय अत्याधुनिक हतियारको विकास र कच्चा पदार्थको अभावले पुख्र्यौली पेशा संकटमा पर्न थालेको बताउँदै वीरबहादुर स्थानीय तहले यो पेशाको संरक्षण गर्नु आवश्यक ठान्छन् । उनी गाउँपालिकामा आफ्नो आरन दर्ता गर्ने पक्षमा छन् ।

देशभरिका आरनहरुको संरक्षणका लागि स्थानीय तहले आर्थिक सहयोग गर्नुपर्ने वीरबहादुरको माग छ । उनले आफ्नो आरनको व्यवस्थापनका लागि ४ लाख रुपैयाँ लाग्ने बताए । उनी अगाडि भन्छन्, ‘आफूसँग भएको सीप र कला नयाँ पुस्तामा हस्तान्तरण गर्ने सोच छ । तर, कसैले पनि आफ्नो सीप र कलाको सम्मान गरेको छैन । यसको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।’

हातखुट्टा चलुञ्जेल र सामथ्र्यले भ्याएसम्म खुकुरी बनाउने पेशालाई निरन्तरता दिने उनको प्रण छ । उनले आफ्ना चारैजना छोरालाई पनि यही पेशामा आवद्ध गराएका छन् । सबै छोराले अहिले यही पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेका छन् ।

पुख्र्यौली पेशा अंगाल्ने क्रममा आफ्नो साहिँलो छोरा आरनमा परेर अपाङ्ग बनेको दुखद घटनासमेत वीरबहादुरले सुनाए । आरनमा बसेर भाटी चलाउने क्रममा एक्कासी आगोको भुंग्रोमा पर्दा छोरा रामबहादुर विश्वकर्माको दाहिने हात र अनुहार डढेको थियो । उनै रामबहादुर अहिले पनि आरनमै काम गरिरहेका छन् । उनको अनुहार र हातका औंलामा डढेका खतहरु प्रष्टसँग देखिन्छन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *